भकुण्डेको यात्रा

0
131

प्रकाश थापा

Advertisement

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!

सहायक वन अधिकृत
जिल्ला वन कार्यालय, बाग्लुङ

सहरिया जीवन शैलीबाट अत्तालिएर मनोरम प्रकृतिको खोजी गर्दै जाँदा मंसिरको पहिलो साता शुक्रबारका दिन बागलुङ भकुण्डेको यात्रा गर्ने निधो गरियो ।

भकुण्डे गाउँको मगर बस्ती, त्यहाँको होम स्टे अर्थात् घरबास, त्यहाँबाट देखिने हिम श्रृङ्खला, भ्यु टावरको अवलोकन, हिरा ताल, बराह ताल, सिताके च्याउको खेती आदिका बारेमा पहिलेदेखि नै सुनिराखेकोले मानसपटलमा भकुण्डे गाउँप्रति राम्रो छाप थियो । यही सकारात्मक छापले मलाई भकुन्डे गाउँको यात्रामा डोहोर्यायो ।

फोटो १ः बागलुङ बजार र तित्याङ गाविस जोड्ने लामो पुल

बागलुङ बजारबाट यात्रा सुरु गरी बागलुङ बजार र तित्याङ गाविस जोड्ने लामो झोलुङ्गे पुल पार गरेपछि भकुण्डे गाउँको रमाइलो यात्रा सुरु भयो । बागलुङ जिल्ला आफैमा झोलुङ्गे पुलको जिल्ला हो ।

बागलुङ बजार र तित्याङ गाविस जोड्ने झोलुङ्गे पुलले ग्रामीण वस्तीहरुलाई बजारसँग सजिलो हुने गरी जोडेको रहेछ । २३५ मीटर लामो यो पुलले ग्रामीण जीवनलाई बजारसँग जोड्ने सारथिको काम गरेकोे रहेछ । पुल तरेपछि करिव तीन घण्टाको उकालो हिँडाइमा भकुण्डे गाउँको सिरान अर्थात् भञ्ज्याङमा पुगियो ।

दिउँसोको तीन बजे हिंडेको यात्रा बेलुका ६ बजे मात्र टुङ्गियो । यात्राका सहयात्रीहरु नारायण र उपेन्द्रको ठट्यौली कुराले बाटो काटेको थाहै भएन । भकुण्डे गाउँ चढ्दै गर्दा सहयात्री उपेन्द्रले पूर्वी नेपालको बसाइमा देखेको पाँचथर जिल्ला सदरमुकामलाई बागलुङ बजारसँग तुलना गर्दै थिए ।

उकालो चढ्दा देखिएका धवलागिरि, निलगिरि, गणेश, माछापुच्छ«े लगायतका हिमश्रिंखला देख्ता म अनि मेरा मित्रहरु ज्यादै आन्नदित थियौँ ।


फोटो २ः बाटो भरि फुलेको पैंयु

साँच्चिकै उकाली चढ्दा देखिएका सेता फाटाले बेरिएका हिमालहरु अस्ताउदो घाममा चम्किरहेका थिए । त्यसैमाथि जति उकालो चढ्यो त्यति नै बागलुङ बजारको परिदृश्य झन राम्रो हुँदै गएको थियो ।

जाडो यामको ढल्कँदो दिन भएकाले रातको बेलाले पनि च्याप्दै थियो । सायद मंसिरको पहिलो साता भएर होला उकाली चढ्दा चिसो हावा र चिसो मौषम पनि बढ्दै थियो । तर हरियाली वातावरण र सुन्दर दृश्य हेर्दै गरेको हिँडाइ र साथी भाइको ठट्यौलीपन भने अविस्मरणीय थियो । मंसिरको बेला भएकाले उकालो हिड्ने बाटो भरि पैंयुका फुलहरु फुलिरहेका थिए ।

लाग्दथ्यो यिनै पैंयुहरुले पनि हामीहरुलाई फुलका गुच्छाहरुले स्वागत गरिरहेका छन् । भञ्ज्याङ नजिकै आउँदै गर्दा भैरव उच्च मा.वि.का नेपाली विषयका गुरु तारा शर्मासँगको भेटले पनि भकुण्डे गाउँको बारेमा धेरै बुझियो । मगर बस्ती, स्नेही आतिथ्यता, अर्गानिक खेती र मनोरम दृश्य भकुण्डे गाउँका विशेषता नै रहेछन् ।

तारा सरको सल्लाहअनुसार त्यस दिनको बास भकुण्डे गाउँको होम स्टेमा भयो । भुटेको सिरिम्ले मकैभट्ट, भाँगो र टिमुरको चट्नी, लोकन कुखुराको सुप र ढिडोको स्वादले मनै फुरुङ्ग थियो ।


फोटो ३ः अस्ताउँदो सुर्यमा चम्केका हिम श्रृंखलाको दृश्य

बिहान उठेपछि हिम श्रृङ्खला र अन्य परिदृश्यको अवलोकनका लागि डाँडोको टुप्पोमा रहेको भ्यु टावर पुगियो । भ्यु टावरबाट देखिने धवालागिरि, निलगिरि, गणेश र माछापुच्छ«े लागायतका अनेकौं हिमाल, कालीगण्डकी नदी, बागलुङ बजार, पर्वत जिल्लाका धान झुल्ने फाँटहरु र वन जंगलले यात्रालाई खुब रोमाञ्चकारी बनायो ।

भ्यु टावरबाट अवलोकन गरेपछि बिहानको खानामा भकुण्डे गाउँको स्वादिलो सिताके च्याउको स्वादले छुट्टै अनुभव दिलायो । उत्तिसको मुढामा लगाइएको सिताके च्याउको खेती पनि खुब हेर्न लायक थियो । सिताके च्याउको खेती कोही व्यक्तिगत रुपमा त कोही समूहमा गरिएका रहेछन् ।

हिराताल पर्यटकीय सामुदायिक वन उपभोक्ता समूह, दह सामुदायिक वन उपभोक्ता समूह र सौर्यपाखो सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरुको सिताके च्याउ खेती प्रशंसायोग्य थियो । सिताके च्याउ स्वास्थ्यवर्धक र स्वादिलो रहेकोले बजारमा यसको माग बढिरहेको स्थानीयहरुले सुनाइ रहेका थिए ।

भकुण्डेमा आलुको राम्रो खेती हुने हुनाले बेसी तिरका मानिसहरु धान बोरामा बोकी आलु साट्न घरघरमा आएका पनि देखिन्थे । कोही गाउँले कोदो ठटाउन व्यस्त थिए त कोही कोदो काट्न । कोदो र आलु मुख्य बाली भकुण्डे गाउँको रहेछ । भकुण्डे गाउँका करेसाबारी सागपात, इस्कुस लगायतका तरकारीले भरिभराउ देखिन्थे । सामुदायिक वन उपभोत्ता समूहले पनि सक्रिय रुपमा वन संरक्षण गरेका छन् भन्ने कुरा वनको राम्रो अवस्थाको हेर्दा अनुभूति हुन्थ्यो ।


फोटो ४ ः भकुण्डे गाउँको दृश्य

भकुण्डेको बराह ताल नजिकै पुग्दा बेग्लै अनुभुति भयो । तालको छेउमा रहेको मन्दिर र धवलागिरि हिमालको छायाँ तालमा प्रष्ट रुपमा देखिन्थ्यो । तालको बीचमा रहेका वैंसका रुखहरु त्यो ठाउँको शोभा बढाइरहेका थिए । चराचुरुङ्गीहरुको आवजले वातावरणमा सुनमा सुगन्ध थपिरहेको थियो । ताल अवलोकनपछि छेउमै रहेको घरमा रसिलो सुन्तला पनि खाइयो । गुलियो सुन्तला जस्तै भकुण्डे गाउँ पनि आफैमा गुलियो थियो ।


फोटो ५ः भकुण्डेको भ्यु टावर

ओराली झर्दै गर्दा स्थानीय कृषक रनबहादुर थापा मगरको नर्सरी पनि देखियो । नर्सरी कृषि तथा वनजन्य विरुवाहरुले भरिभराउ थियो । हराभरा र सुन्दर नर्सरीले देशमा केही गर्नका लागि थप ऊर्जा दिएको महशुस पनि भयो । रोजगारीका लागि विदेशिनेहरुका लागि उनको नर्सरी साँच्चिकै एक पाठशाला समेत थियो । देशको माटोमा उनको मिहिनेत र परिश्रम प्रशंसायोग्य थियो । नर्सरी हेरेपछि भकुण्डे गाउँसँग रम्दै यात्राबाट फर्कियो । अनि उही झोलुङ्गे पुल तरी बागलुङ बजार आइयो । भकुण्डे गाउँ घुमेर हेर्दा मनै लोभियो ।


फोटो ६ः भ्यु टावरबाट देखिने बागलुङ बजार, हिम श्रृंखला लगायतको मनोरम दृश्य

स्थानीय परिकार, मनोरम वातावरण, मगर समुदायको कलासंस्कृति, हिम श्रृंखलाको अवलोकन र स्नेही आतिथ्यताले भकुण्डेको याद अझै दिलाइ रहेको छ । तपाईहरु पनि एक पटक जाने हो कि घुम्नलाई पर्यटकीय भकुण्डे गाउँ ।

Advertise for free!

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!