पाण्डवखानी घुमेर हेर्दा!

0
274

प्रकाश थापा

सहायक वन अधिकृत
जिल्ला वन कार्यालय, बाग्लुङ

Advertisement

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!

काठमाडौंबाट करिब ८ घण्टा माइक्रो चढेपछि बागलुङ सदरमुकाम आइपुगिन्छ । त्यसपछि मध्य पहाडी लोकमार्गहुँदै जीप यात्रा गरी ५ घण्टामा पाण्डवखानी पुगिन्छ । प्राकृतिक, साँस्कृतिक र ऐतिहासिक रुपमा धनी पाण्डवखानी गाउँ आउँदै गर्दा घुम्टे लेकले न्यानो स्वागत गर्दछ । ३२०० मिटर अग्लो यो लेक आफैमा विविध वनस्पति र वन्यजन्तुको खानी नै छ । घुम्टेको टाकुरामा रहेका सिद्घभैरवको थानले जो कोहीको पनि मनै लोभ्याउँछ । मध्यपहाडी लोकमार्ग पार गरि आउने मल्मको झिर्का गाउँ सिमाना नजिक रहेको पाण्डवखानीकै सित्थान डाँडामा लडिबुडि खेल्दै चार घण्टे उकालो हिँडाइले घुम्टे चुचुरो चुमिन्छ । चुचुरो चुम्ने क्रममा पनि पाण्डवखानीको रमाइलो मगर बस्ती र घाटु नृत्यले त जो कोहीलाई पनि कसो मोहित नपार्ला ।

सन्दर्भ २०७३ सालको वैशाखे पूर्णिमाको थियो । अरुले भनेको सुनेको थिए कि वैशाखे पूर्णिमाको अघिल्लो दिन घुम्टेका सिद्घको दर्शन गर्नाले मनोकांक्षा पूरा हुन्छ, सित्थानमा ठूलो मेला लाग्छ, अर्को दिन पाण्डवखानीमा घाटु नृत्य देख्न पाइन्छ र चर्मचक्षुको तृप्ति तथा जिव्राको भरपुर स्वादका लिन पाइन्छ । यही मनोकांक्षा पुरा गर्न सहकर्मीहरुको समुहमा दोकाम एक पन्थको उद्देश्य पुरा गर्न घुम्टे लेकको यात्राका साथै पाण्डवखानीको रमाइलो हेर्नको लागि हिंडियो ।

बागलुङ बजारबाट भालेको डाँको नछुट्दै जीप यात्रा गरी धुलाम्मे मोटर बाटोबाट पाण्डवखानीको सित्थानमा बिहान ९ बजे खाना खान पुगियो । खानापछि घम्टे लेकको यात्रा गरी चुचुरोका सिद्घभैरवको थानमा मनोकामना गर्दै प्रकृतिमा झुल्दै फेरि सित्थानकोे हरियो पाखोमा झरियो । सित्थानमा झरेपछि एकैछिन बैशाखे पूर्णिमाको अघिल्लो दिन लाग्ने मेला हेर्न लागियो । मेला भर्न गलकोट क्षेत्रका चौध गाविस लगायत गुल्मी र म्याग्दी जिल्ला समेतका मानिसहरु आउँदा रहेछन् । घुम्टे लेक चढि सिद्घभैरवलाई कामना गरि सित्थानमा आएर आराम गर्दै मेला हेर्ने चलन परापूर्व कालदेखि नै रहेको कुरा सहयात्री राम खत्रीले बताए । सित्थानबाट पारिको पाण्डवखानी गाउँ पनि देखियो । मूलतः मगर बस्ती र मनोरम वातावरणले मलाई पाण्डवखानीको गाउँलाई लमजुङकोे घले गाउँको सम्झना दिलायो । रमाइलो सित्थानबाट ओरालो लागी सुनपानीे मन्दिरको आर्शिवाद थापि गैह्रभाटि पुगियो । गैह्रभाटिले पनि न्यानो सत्कार दियो । अतिथिको सत्कारमा गैह्राभाटि तल्लिन रह्यो । पाण्डवखानीवासीको सहयोगी भाव, इमानदारिता र अतिथि सत्कारको पक्षले मनै छोयो । महाभारतका पाण्डवहरुका पाँच भाइ यहाँ आइबसेकाले पाण्डवखानी नाम रहेको भन्ने स्थानीय बुढापाकाको भनाई थियो भने पल्लो खानीबाट पाण्डवखानी भएको हो भन्ने पनि सुनियो । राति अवेरसम्म लोक दोहोरीको भाका गुन्गुनाए पछि दिउँसोको थकित हिंडाइले गर्दा त्यो दिनको विश्राम त्यतै लिइयो ।

अर्को दिन बिहान उठे पश्चात् चियाको चुस्कीपछि एकै छिन रमाइलो बस्ती हेर्न डुलियो । वैशाखे पूर्णिमाका दिन पाण्डवखानी उच्च मा.वि. को प्राङ्गणमा लाग्ने मेला र घाटु नृत्य हेर्न बिहानको स्थानीय परिकारको खानापछि त्यतातर्फ लागियो । कला, संस्कृति र प्रकृतिक स्रोतमा पाण्डवखानी धनी गाउँ रहेछ । पाण्डवखानीको घाटु नृत्यले मेरो मनै लोभ्यायो । घाटु नृत्यमा जैसिंगे राजाको मृत्यु र रानीहरुको अलाप र विलापको सती घाटु नचाइएको थियो । घाटु नृत्यमा नाच्ने घाटुलीहरुलाई देउता उतार्ने काम घाटु गुरुबाको हुँदोरहेछ । गुरुबाले देउता उतारेपछि सोह्र श्रृंगारसहितका घाटुलीहरु गीतको ताल र नृत्यको चालमा आँखा बन्द गरी छमछम झुमीझुमी नाँच्दा रहेछन्् । हृदयविदारक गीतको स्वर र घाटुलीको विलापले जो कोहीलाई पनि भावुक बनाउँदो रहेछ । देउताले घाटुलीलाई नचाई सकेपछि मात्रा आँखा खोलिदए । अर्को दिन मात्र घाटु काप्रे खोलामा लगेर सेलाइयो । घाटु नाच पाण्डवखानीको चिनारी नै रहेछ । घाटु नाच हेर्ने जो कोही पनि यसको तारिफ नगरि छोड्दैन ।

पाण्डवखानी आफैमा जडिबुटीको भण्डार पनि रहेछ । स्थानीय धामी झाँक्री र लामाहरुले परापूर्व कालदेखि नै औषधिमुलो गर्न यहाँको जडिबुटी प्रयोग गर्दा रहेछन् । मेलामा एक स्थानीय युवाले पाण्डवखानी गाविसमा पाइने जडिबुटीको प्रदर्शनीमा पाँचऔले, चिराइतो, सतुवा, भुतकेश, वन अंगुर, पाखनवेद, लसुने साग, बाटुल पाते, कुकुरदाइनो, चिनी लहरो, भुइचम्पा, गोलकाँक्री, ढकायो, घोडताप्रे, ठोट्ने, चुल्ठी अमिलो, नागबेली, अभिजालो लगायतका बहुमुल्य जडिबुटीहरु देखाए । स्थानीयसँग भलाकुसारी गर्दै जाँदा क्यान्सरको अचुक औषधि लौठ सल्ला पनि यहाँका सामुदायिक वन र सरकारद्वारा व्यवस्थित वनमा प्रशस्त रुपमा पाइने रहेछ । यहाँको शिवधुरी सामुदायिक वन, शंखद्वार सामुदायिक वन, रमुवा सामुदायिक वन, वाइगाम बतासे सामुदायिक वन, लोङगा देउराली सामुदायिक वन र ककने सामुदायिक वनमा लौठ सल्ला पाइने कुरा इलाका वन कार्यालय खर्वाङका फरेष्टर दिपकबहादुर श्रीसले बताए ।

(फोटो ५ ः सित्थानको चौर)

पाण्डवखानी आफैमा तामा, फलाम, सिसा, सुन, स्लेट आदि खानी नै खानीको गाउँ रहेछ । यही खानी गाउँलाई पछाडि पाण्डवखानी भनिएको रहेछ । अहिले पनि त्यहाँ विभिन्न खानीका सुरुङहरु रहेकोे कुरा स्थानीयहरुले सुनाए ।

पाण्डवखानीका कालाखानी, भाङखानी, पुरनगाउँखानी, फुर्सेखानी, डंगेराखानी, ओखरेखानी र भिरखानी लगायतका विभिन्न ठाउँमा तामाको राम्रो भण्डार रहेको हुँदा राज्यले आवश्यक अध्ययन अनुसन्धान गरी उत्खनन गर्नुपर्ने कुरा त्रिभुवन विश्वविद्यालयमा धवलागिरी क्षेत्रका खानीहरुको इतिहास विषयमा विद्यावारिधी गर्दै गरेका अनुसन्धानकर्ता रामप्रसाद उपाध्यायले बताए । घाटु नाच हेरेपश्चात सोही रात पनि गैह्रभाटिमा बसेर अर्को दिन उकालो हिड्दै जाँदा पाण्डवखानीको रमुवा बस्तीमा पुगियो । यहाँको मह शिकार बारे रमाइलो कुरा सहयात्री प्रेमलाल शर्माले सुनाए । बीचबाटो हिड्दै गर्दा पहाडमा भीर मौरीका पोलाहरु पनि देखिए । स्थानीय रमुवावासीले आफ्नै सिप र स्रोत साधन प्रयोग गरी भीर मौरीको मह काढ्दा रहेछन् ।

जडिबुटि प्रदर्शनीमा देखाइएको सतुवा)

रमुवामा नै पुगेपछि त्यहाँका स्थानीयले कठिनता पूर्वक काढेको मह पनि चाखियो । मह चाट्दा छुट्टै आनन्द आयो । यसै बेला भीर मौरीको महका स्वास्थ्यवद्र्धक कुराहरु पनि एक वृद्घले विनम्रतापूर्वक सुनाए । बेलुका रमुवा वस्तीको अर्गानिक आलु, भाँगोको चटनी, ढकायो साग, लोकल कुखुराको झोल र जौको आटो खाँदा त सहरीया भनाउँदो सभ्यताको कृतिमतालाई धिक्कार्दै त्यही प्रकृतिको काखमा सँधै सँधै बसिरहँु जस्तो लाग्यो । जीवनको केही क्षणिक रमाइलो पाण्डवखानीको यात्राले मलाई कहिल्यै नभुल्ने गरी दिलायो ।

(फोटो: रमुवामा प्राकृतिक अवस्थामा यात्राका क्रममा भटिएको चिराइतो )

(लेखक थापा जिल्ला वन कार्यालय बागलुङका सहायक वन अधिकृत हुन् ।)

Advertise for free!

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!