गलकोटलाई डेढ दशकपछि फर्केर हेर्दा…

0
1114

प्रकाश थापा

सहायक वन अधिकृत
जिल्ला वन कार्यालय, बाग्लुङ

Advertisement

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!

समय र परिवेश कत्ति बलवान रहेछ । विगतलाई एक पटक फर्केर हेर्दा म आफैंमा झसङ्ग हुन्छु । थाहै नपाइ अलि अलि गरी समयले बेस्सरी कोल्टो फेर्दो रहेछ । त्यही कोल्टो फेराइमा बागलुङ जिल्लाको पुरानो मुकाम गलकोट जुन आफैमा पहिलेको चौबीसे राज्य मध्येको एउटा राज्य थियो यही गलकोट डेढ दशकमा व्यापक परिवर्तित छ । पुराना तस्विर र अहिलेका तस्विरहरु फेसबुकमा आक्कलझुक्कल देख्दा म आफैमा अचम्मित पर्दछु । विज्ञान, सूचना तथा प्रविधि, सामाजिक संरचना र भौतिक विकास निर्माणको प्रभावले यही डेढ दशकमा गलकोट कायापलट हुने गरी फेरिएछ ।

उहिले जिल्ला सदरमुकामबाट करिब ८ घण्टाको थकित हिडाइमा गलकोट क्षेत्रमा पुगिन्थ्यो । त्यसबेला मेरो मानसपटलले अहिले जस्तो बस वा जिप रोजी रोजी चढौला र ३ घण्टा समयमा यात्रा गरिएला भन्ने सोचेकै थिएन । एडिविको मोटर बाटो र त्यसमाथिको झन मध्य पहाडी लोक मार्गको सुचारुले गलकोटको आज मुहारै फेरिदिएको छ । छिटो छरितो यात्रा र सुगमतामा गलकोट भेगसम्म आइपुगेछ । ढुंगा माटाका कच्ची साधारण घर र साना साना गल्लीहरु उहिलेका कहलिएका गलकोट क्षेत्रमा रहेका बजारहरु हटिया र हरिचौरमा थिए । यही डेढ दशकमा ती बजारहरु आधुनिकताको सुरुवाती दिनहरुमा पुगिसकेछन् । सिमेन्टेड घर, चाक्लो बाटो र बढ्दो सहरीकरणले मनै लोभ्याउने भएछ । होटेलको नाउँमा केही साना झुप्राहरु अहिले ठुला ठुला भएछन् र घरै पिच्छे रेष्टुरेन्ट र होटेल खोलिन थालेछन् । लहलह धान झुल्ने मजुवा फाँटमा प्लटिङ गरी जग्गा व्यापार पो फष्टाएछ । माथि माथिका बस्तीहरु ताराको सिप, अर्गलको भातखाने डाँडा, हिलको काँक्राखोर, मल्मको झिर्का, पाण्डवखानीको रमुवा लगायतका पुराना विकट मानिने स्थानमा समेत धुलौटे भए पनि मोटर बाटो पुगेछ । ओहो ! यो डेढ दशकमा विकासको कति राम्रो परिवर्तन । सूचना संचारको लागि चरौदीको आर्मी क्याम्पमा राखेको ल्यान्ड लाइन फोनबाट गलकोट क्षेत्र भरिका मानिसहरुसँग घण्टौ लाइन लगाएर फोन गर्ने पालो पर्खेको हिजै जस्तो लाग्छ । त्यो परिवेशबाट आज यो गलकोटमा हात हातमा मोवाइल सेट र हटिया बजारमा गलकोट एफ्.एम् संचालन भएको अवस्था छ । गलकोट सेरोफेरोको समाचार बिहान ७ र बेलुका ७ मा सुन्न पाइने भएछ । सुविधाको उपयोग आफ्नै गाउँ ठाउँमा बसी उपभोग गर्न पाउँदा म आफैमा आश्चर्य चकित छु ।

यति ठूलो विकासको परिवर्तन यस क्षेत्रमा पाउँदा पनि उहिले जस्तो रमाइलो खै किन हो आजकल त्यति लाग्दैन । गलकोट आफैमा सुन्दर छ । हावापानी बस्नका लागि उत्तम, मनोरम प्राकृतिक छटाले भरिपूर्ण तै पनि मनमा केही बिजे जस्तो । सौन्दर्यको लागि गलकोटको घुम्टे, गाजाको धुरी, निलुवा लेक बागलुङ जिल्लामै प्रख्यात ठाउँ हुन् । यी ठाउँमा नझुम्ने वा नरम्ने को होला र । यही डेढ दशकमा गलकोटको मानवीय स्रोतमा ह्रास वा भनौ केही गुमेजस्तो अवस्थाले गर्दा उहिलेको गलकोट जस्तो लाग्दैन । गलकोटका गाउँ बस्तीबाट युवा पलायनको नराम्रो रोग भनौ वा आर्थिक उन्नयनको लागि विदेसिएको भनौ । युवाहरु गाउँघरमा छैनन् । यो क्रम अहिलका वर्षहरुमा दिन दुई गुना भनौ रातको चौगुनाका दरले अगाडि बढिरहेको छ । हुन त देशमा रोजगारी छैन । बढ्दो महंगी छ । स्वदेशमा केही गरौ भन्नेहरुका लागि पनि कुनै वातावरण नै छैन । देशको मूल समस्यामा वैदेसिक पलायन पहिलो सूचीमा आउने गरेको छ । तर अन्य भेग वा जिल्लाको तुलनामा गलकोट क्षेत्र वैदेसिक रोजगारीमा अब्बल स्थानमा आउँछ ।

बाजे कै पालादेखि नै भारतीय सेनाको जागिर गलकोटका लागि कुनै नौलो कुरा होइन । त्यतिबेलाको समयमा भारतीय सैनिक बन्ने लहर हुन्थ्योे । कोही भारतीय सेनामा जागिर गर्ने, त कोही गाउँघरमा खेतीपाती र पशुपालन गर्ने । यी दुई कुराले बाजेको पालामा गुजारा चलेको थियो । आज पनि गाउँबस्तीतिर धेरै नै सेवा निवृत्त सैनिकहरु छन् । आज गलकोटको समाज अलि फेरिएको छ । बाजेका पालामा समेत भारतीय सेनामा पलायन नभएको होइन । तर त्यो सीमित पलायन र केही वर्ष पछिको गाउँमा फर्किने किसिमको थियो । अधिकांसहरु स्वदेशमा नै कुटो कोदाली र पशुपालन गर्दथे । परिवारसँगै बस्दथे, मिठो मसिनो खान्थे र गाउँको माटोमा जीवन जिउन संघर्ष गर्दथे । तर पनि कत्ति ठूलो पारिवारिक मिलाप र सन्तोष थियो ।

अहिलेका वर्षहरुमा पहिलेको जस्तो अवस्था छैन । अधिकांश गलकोटेहरु सफल जीवन र आर्थिक समृद्घिको मिठो सपना बोकेर जापान, युरोप, अष्ट्रेलिया, अमेरिका र कोही खाडी त कोही भारतमा आफ्नो पसिना बगाइरहेका छन् । वैदेसिक रोजगारीका लागि विदेश जाने मध्ये धेरै गलकोटेहरु जापानमा छन् । जापान जानेहरुमा कोहीले आफ्नो परिवार उतै सारेका छन् त कोहीे लैजाने सुरमा छन् । जापानमा रहेका गलकोटेहरुको आवाज बुलन्द गराउन र स्वदेशमा केही गरेर देखाउन जापानमा छरिएर रहेका हजारौं गलकोटेहरु एकजुट भई गलकोट समाज जापान नै गठन गरिसकेछन् । गलकोटे आफैमा इमानदार र मिहिनेतीको पर्यायवाची नाउँ हो । यही आफ्नो गुणले गर्दा धेरै नै गलकोटेहरुको जापान लगायत अन्य मुलकुमा समेत आफ्नै व्यावसाय फस्टाएको रहेछ भने कोहीले जापानका रेष्टुरेन्टमा काम गरी जापानी मान कमाएका रहेछन् । यही मान, सान र बाध्यताले गर्दा नै होला विदेसप्रतिको आर्कषण । विदेशमा अधिकांश गलकोटे रहे पनि उनीहरुको मन गलकोट मै रहेको झल्को उनीहरुले गाउँ ठाउँमा बेला बखत गर्ने सामाजिक सेवाका कार्यबाट झल्किने गरेको छ । चाहेर भनौ वा नचाहेर, आवश्यकता भनौ वा विवशता, विविध कारणले गलकोटेहरुको लर्को विदेस पलायनतर्फ तीव्र गतिमा छ ।

यही तीव्र गतिको वैदेसिक रोजगारीको वेगले गलकोट क्षेत्रमा आर्थिक, सामाजिक र साँस्कृतिक प्रभाव पारिरहेको छ । ठुलो मात्रामा भित्रिने विप्रेषणले गलकोटका वस्ती वस्तीमा आर्थिक सबलता छाएको छ । गलकोटका कुना कन्दारामा चर्को मूल्यमा जग्गाको कारोबारले पनि यो सबलता झल्काउँछ । वित्तीय कारोबारका लागि खुलेका सहकारी र बैंकले पनि यसलाई प्रष्ट देखाउँछन् । गलकोटेहरुको खर्च गर्ने शक्ति बढिरहेको छ । यसै कारण गलकोटेहरुको जीवन शैली आधुनिकतातर्फ उन्मुख छ । जीवनस्तरमा सुधार हुनु आफैमा राम्रो पक्ष हो । यो समाजको समृद्घिको सूचक समेत हो ।

डेढ दशकमा गलकोटको सामाजिक संरचनामा व्यापक परिवर्तन आएको छ । आर्थिक रुपमा सबल देखिए पनि सामाजिक संरचना भने अलि कमजोर वा भताभुङ्गको अवस्थामा पुग्न लागेकोे हो कि भन्ने मनमा चिसो पस्यो । गाउँघरमा वृद्घ वृद्घा, केटाकेटी र केही युवाको मात्र बाहुल्यता हुन थालेको छ । अधिकांश युवाहरु परदेशमा छन् । यसै कारण गलकोटमा सबथोक हुँदा हुँदै पनि केही हराएको त केही छुटे जस्तो भएको छ । गाउँघरमा हुने विकास निर्माण, राजनैतिक दलका प्रशिक्षण, आमा समूह, कृषि समूह, सामुदायिक वन उपभोक्ता समूह, खानेपानी उपभोक्ता समूह र सहकारी लगायतका अन्य सामुहिक भेलामा युवा प्रायः शून्य देखिन्छन् । अहिलेका दिनहरुमा प्रत्यक्ष सामाजिक कार्यमा उनै सेवा निवृत्त व्यक्तिहरुको मात्र योगदान भइरहेको छ । अब यही अवस्था रही रहे केही वर्षपछि गलकोटको सामाजिक विकासमा नकरात्मक प्रभाव स्पष्ट रुपमा नै देखिने सम्भावना म देख्दछु । यसैगरी रोजगारीले आर्थिक पाटोमा महत्वपूर्ण योगदान पु¥याए पनि पारिवारिक जटिलता जस्तैः– सम्बन्ध विच्छेदका घटना, कुलतमा बालबालिका इत्यादि भने दिनानुदिन बढिरहेको छ । विगतको डेढ दशकलाई केलाउँदा गलकोटे समाज व्यापक रुपमा परिवर्तित देखिन्छ । समाजमा पैसा प्रशस्त मात्रामा छ तर त्यसको सही उपयोग भएको देखिदैन । पैसाले व्यक्तिको दम्भ र घमण्ड एकातर्फ बढाइरहेको छ भने अर्कातर्फ व्यक्तिगत पहिचान नै समाप्त पार्ने खतरा छ । बालबालिकामा पैसाको फजुलखर्च, दुरुपयोग जस्ता नकारात्मक प्रभाव अहिलेका दिनमा देखा परिरहेका छन् । बालबालिकाको मस्तिष्कमा समेत जीवनको उद्देश्य पैसा कमाउने र पैसा विदेसबाट मात्र कमाउन सकिन्छ भन्ने भ्रम छ । उनीहरुको मनोविज्ञानमा मातृभूमिमा केही गर्छु भन्दा पनि विदेसप्रतिको मोह ज्यादा देखिन्छ । अर्कातर्फ हेर्ने हो भने विदेसको धन गलकोटलाई आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित देखिदैन । पैसा जति काठमाडौं, पोखराका घर र गलकोटका धान झुल्ने फाँटमा घर ठडाउनेतर्फ उन्मुख हुँदै छ । गलकोटेहरुको लगानीमा गलकोटमा कलकारखाना या अन्य आत्मनिर्भर हुने खालका कार्यको थालनी भने देखिदैंन ।

विगतको डेढ दशकमा गलकोटमा साँस्कृतिक परिवर्तन समेत देखा परेको छ । पहिलेका हाम्रा आफ्ना लोक संस्कृति तथा कला विस्तारै हराउँदै छन् । अहिलेका वर्षहरुमा च्याउ झै वर्षभर भइरहने मेलाहरुले त झन् विकृतिलाई नै प्रोत्साहान गरे झै देखिन्छ । मेलाका नाममा हुने आयातित वस्तुको प्रवद्र्घनले स्थानीयमा बाह्य वस्तुप्रतिको मोह बढाएको छ । यसैगरी टोल टोलमा मेला लाग्ने परम्पराको थालनी र मेलाको लागि गाउँदेखि जापान लागायत अन्य मुलुकसम्मको चन्दा आतंकले पनि विकृतिको थालनीलाई टेवा पु¥याइरहेको देखिन्छ । यानीमाया, सालैजो, नानीलै लगायत अन्य गाउँघरका ठेट लोक भाका कही कतै सुन्न पाइदैंन । वैदेसिक रोजगारीले लोक परम्परालाई समेत नमिठो प्रभाव पारेको देखिन्छ ।

यसरी गलकोटलाई डेढ दशक यता फर्केर हेर्दा व्यापक परिवर्तनहरु देख्न सकिन्छ । आर्थिक पाटोमा वैदेसिक रोजगारीले क्षणिक रुपमा सुसम्पन्न बनाए पनि समाजमा कुसंस्कार र कुरीतिहरु भने बढाएको देखिन्छ । अतः गलकोटको सुनौलो भविष्यको लागि गलकोटे धन र मनलाई एउटै साङ्लोमा पारेर गलकोट क्षेत्रका विविध क्षेत्रमा लगानी गरी स्वरोजगारतर्फ समाजलाई उन्मुख गराउनु पर्ने बेला आएको छ । आजका दिनमा जो जे जस्तो बाध्यता र परिस्थितिले जहाँ जानु परे पनि भोलिका दिनहरुमा जहाँको धन भए पनि आफ्नै मातृभूमिमा तन, मन र धनको संयाजनले हाम्रा भावी सन्ततीलाई आफ्नो जन्मभूमि छोडी कोही कसैलाई अन्यत्र कतै भौतारिन नपरोस् । गास, वास, कपास, शिक्षा, स्वास्थ्य र स्वरोजगार आफ्नै जन्मभूमिबाट प्राप्त होस् । जय गलकोट । जय जन्मभूमि ।

Advertise for free!

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!